शनिश्चरे । कोभिड–१९ महामारीको जोखिमसँगै अन्य रोगहरुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले अर्जुनधारा नगरपालिका मातहतमा रहेको शनिश्चरे आयुर्वेद औषधालयले सोमबार औषधि वितरण गरेको छ ।

औषधालय प्रमुख कविराज निरीक्षक अनिल ठाकुर, वैद्य निरीक्षक पुष्कर खतिवडालगायतको टोलीले अर्जुनधारा नगरपालिकाले वडा नम्बर ८ मा सञ्चालन गरेको अर्जुनधारा क्वारेन्टाइन स्थलमा रहेका ६० जनालाई उक्त औषधि वितरण गरेको हो ।

प्रत्येक व्यक्तिलाई एक सय ग्रामका दरले वितरण गरिएको तीन प्रकारको औषधिमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण र गुड्ची चूर्ण रहेको प्रमुख ठाकुरले जानकारी दिए । प्रयोग गर्ने विधिसहित वितरण गरिएको उक्त औषधि सबै उमेर समूहकालाई लाभदायक हुने प्रमुख ठाकुरले दावी गरेका छन् ।

यसअघि औषधालयले सोही क्वारेन्टाइनमा रहेका ५० जनालाई उक्त औषधि वितरण गरेको कार्यालय सहायक महेन्द्र खरेलले जानकारी दिए ।