चिरञ्जीवी घिमिरे,
खुदुनाबारी । झापाको अर्जुनधारा र खुदुनाबारीस्थित सुखानी जोड्ने ७ किलोमिटर सडक निर्माण सम्झौता भएको २६ असारमा दुई वर्ष पूरा हुँदैछ । तर, काम सम्पन्न हुने समय सकिन लाग्दा पनि काम भने ५० प्रतिशत पनि सकिएको छैन ।

भौतिक पूर्वाधार विकास कार्यालयले २७ असार ०७५ मा ठेक्का लगाएको उक्त सडक लथालिंग अवस्थामा छाडिएको छ । १ करोड १० लाखमा निर्माणको जिम्मा पाएको द कञ्चनजंगा–शेर्पा–कञ्चनजंगा जेभीले तीन महिनाअघि भएको लकडाउनलाई कारण देखाउँदै निर्माण अलपत्र छाडेको छ ।

निर्माण गर्ने भन्दै पूर्वाधारका सामग्री सडकमै छाडिँदा सवारी आवतजावतमा समेत समस्या भएको अर्जुनधारा–३ का अध्यक्ष जीवनकुमार भण्डारी बताउँछन् ।

खुदुनाबारी बजार क्षेत्रको करिब दुई किलोमिटर क्षेत्रमा गिट्टी तथा ढुंगाको बेस थुपारेर हिँड्नै मुस्किल परेको उनले बताए । उनले भने, ‘खुदुनाबारी बजारमा गिट्टी, ढुंगा थुपारेको ६ महिना भइसक्यो । आकस्मिक पर्योद भने ठूलो गाडी ल्याउन सक्ने अवस्था पनि छैन ।’

भर्खरै आएको कोरोनाको बहाना बनाएर काम नसक्ने निर्माण व्यवसायीलाई उन्मुक्ति दिन नहुने स्थानीय व्यवसायी कमल अधिकारीले बताए । ‘लकडाउन त भर्खरै भएको हो । यसभन्दा अघि पनि काम भएको थिएन,’ उनी भन्छन्, ‘पहिलाचाहिँ काम नगर्ने अनि पछि अनेक बहानामा समय थप्ने काम गर्ने ठेकेदारलाई नछाडियोस् ।’

सुगम जिल्ला झापाको अर्जुनधारा २ र ३ नम्बर वडा जोड्ने यो एकमात्र कालोपत्रे सडक योजना हो । यही बाटो भएर इलामको दानाबारीमा पनि सवारी दैनिक जाने गरेको छ । सडक समयमा नसकिँदा र बर्खामा हिलाम्मे हुँदा यात्रा कठिन हुने गरेको छ ।