बिर्तामोड । झापामा थप १३ जनामा कोरोना भाइरसको संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार झापाको बुद्धशान्ति, मेचीनगर र हल्दीवारीमा संक्रमित थपिएका हुन् ।

बिर्तामोड नगरपालिकामा भने संक्रमण पहिलो हो । संक्रमित दुई पुरुष बिर्तामोड ५ र ७ नम्बर वडा निवासी हुन् । उनीहरु क्रमशः ३६ र ४६ वर्षिय उमेरका छन् । यसअघि बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका बिर्तामोडका एक जना पुरुषमा संक्रमण देखिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् ।

मंगलवार झापामा आठ जना महिला र पाँच जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फोकल पर्सन जीवन चौलागाईँले संक्रमित सबैलाई मोरङको गोठगाउँ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताए ।

नयाँ थपिएकासँगै झापामा संक्रमित संख्या २०५ जना पुगेको छ । मंगलवार झापामा सबैभन्दा बढी बुद्धशान्ति गाउँपालिकामा छ जनामा संक्रमण देखिएको छ । गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये तीन जना महिला छन् ।

कोशी अस्पताल विराटनगर गरिएको स्वाब परीक्षणमा छ जनाको रिपोर्ट पोजेटिभ आएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए ।

संक्रमण फेला परेकामध्ये महिला भारतको मुम्वईबाट आएका हुन् । संक्रमित पुरुष गुजरातबाट आएको स्वास्थ्य शाखाले जनाएको छ । बिर्तामोडमा संक्रमण फेला परेका दुई जना पुरुषमध्ये एक जना ओमनबाट आएका हुन् भने एक जना भारतको चेन्नईबाट घर फर्किएका हुन् ।

चेन्नईबाट फर्किएका पुरुष होम क्वारेन्टिनमा बसेका थिए । उनी असार ४ गते चेन्नाईबाट फर्किएका हुन्। मेचीनगरमा तीन जना महिला संक्रमित भेटिएका छन् । उनीहरुमध्ये दुई जना कुवेतबाट र एक जना भारतबाट फर्किएका हुन् । हल्दिबारी गाउँपालिकामा पनि कुवेतबाट फर्किएका थप दुई जना महिलामा संक्रमण देखिएको छ ।