झापा । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् ।

मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता रहे पनि सरकारसँग समन्वय गरेर ल्याब स्थापना र सञ्चालन गर्न सकिने धारणा राखे । उनीहरुले ल्याब स्थापनापछि सञ्चालनमा आउन सक्ने समस्याका बारे अहिले स्पष्ट हुनुपर्ने विचार राखेका थिए ।

झापामा स्थापना हुने ल्याबका लागि १ नम्बर प्रदेश सरकारसँग पहल गर्न दलहरु सहमत भएका छन् । त्यस्तै, प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसँग समन्वय गर्न तथा आवश्यक व्यवस्था मिलाउन दलहरु प्रतिबद्ध भएका छन् ।

छलफलमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुत राजवंशी र दिपेन बाला राई, राप्रपा झापाका उपाध्यक्ष कमल खरेल, सचिव केशव ओझाले आआफ्नो पार्टीका तर्फबाट साथ, समर्थन र प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, राष्ट्रिय बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारीलगायतले राजनीतिक तथा सरकारी हिसाबले निर्णय गरेर झापामा चाँडै पिसिआर ल्याब सञ्चालनमा ल्याउनुपर्ने धारणा राखेका थिए ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईको समर्पण भवनमा स्थापना हुने भनिएको ल्याब सञ्चालनका लागि ३० लाख रुपैयाँसम्म बजेट छुट्याउने प्रतिबद्धता जनाएका थिए । वर्तमान अवस्थामा ल्याबको अभावमा कोरोना भाइसरको रिजल्ट आउन १० दिनसम्म पर्खिनुपर्ने बाध्यता भएकाले यथाशक्य चाँडो ल्याब सञ्चालन गर्न जोड दिए ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले राजनीतिक दल र सरकारले समयमै छलफल गरेर निर्णय तथा अनुमति दिए असार मसान्तभित्र ल्याब तथा अन्य उपकरण उपलब्ध गराउन अभियान तयार रहेको बताए । हालसम्म ८२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको र एकडेढ हप्तामा ल्याबका लागि आवश्यक रकम प्राप्त भइसक्ने गिरीको भनाइ थियो ।

छलफलमा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानले हालसम्म गरेका कामका बारेमा प्रस्ट्याएका थिए । सदस्य सजेश शिवाकोटीले ल्याब स्थापनाको प्राविधिक पक्षका बारेमा सहभागीलाई स्पष्ट पारेका थिए ।

छलफलमा सदस्यहरु कुमार भट्टराई, यज्ञराज ओली, शिव कडेल, कुमारमणि पोखरेल, मदनगोपाल सुब्बा, गजेन्द्र पौडेल, निर्मल भट्टराईलगायतले आआफ्नो कुरा राखेका थिए । छलफलको सहजीकरण सम्वाद समूहका तर्फबाट एकराज गिरी र खगेन्द्र खरेलले गरेका थिए ।

ल्याब स्थापनाका लागि हालसम्म ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेका छन् । विभिन्न सामाजिक तथा वित्तीय संस्थाले पनि अभियानलाई सहयोग गरिरहेका छन् ।