झापा । झापामा कोरोना संक्रमण बढ्दो छ । तर, बजारमा आवत–जावत गर्नेको संख्या ह्वातै बढेको छ ।

भिडभाड बढ्दै गएको र मास्कको प्रयोग नगर्नेको संख्यासमेत बढ्दै गएका कारण संक्रमणको जोखिम न्यून गर्न झापामा थप कडाइ गरिएको छ ।

स्थलमार्ग भएर झापाका विभिन्न नाकाबाट भित्रने नेपालीको संख्या दिन–दिनै बढेसँगै कोरोना संक्रमितको संख्यासमेत प्रदेश नम्बर–१ को झापामा तीव्ररुपमा बढ्दै गएको छ ।

झापामा अहिलेसम्म २०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आवत–जावत गर्दा मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि झापामा पछिल्लो समय त्यस्तो देखिँदैन । जसका कारण कोरोना फैलने त्रास बढेको छ ।

खासगरी शिक्षित वर्गले नै अटेरी गर्दै हिँड्डुल गर्न थालेपछि अहिले झापाका विभिन्न चोक तथा बजारमा बिहानैदेखि भिडभाड देखिन्छ ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँगको खुला सीमा जोडिएको झापाको विभिन्न गौडाबाट लुकीछिपी भित्रने नेपालीको संख्या एकतर्फ रोकिएको छैन भने अर्कोतर्फ प्रदेशकै धेरै कोरोना संक्रमित यही जिल्लामा छन् ।

तर, कोरोनाबाट बच्ने सावधानीका उपाय अपनाउन छाडेपछि झापामा थप कडाइ गरिएको हो ।

विभिन्न संघ–संस्थाको अगुवाइमा अहिले बिर्तामोडलगायत झापाका विभिन्न पसल तथा मलअगाडि सामाजिक दूरी कायम राख्न एक एक मिटरको दूरीमा गोलो घेरा बनाउँदै सामान किन्न आउनेलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्ने अभियान सुरु गरिएको छ । जसमा बिर्तामोड नगरपालिकाकोसमेत सहभागिता रहेको छ ।

पूर्वकै व्यस्त सहरको रुपमा रहेको बिर्तामोडमा सामाजिक दूरी तथा मास्कको प्रयोग नगर्नेको संख्या बढेसँगै जोखिम बढेको भन्दै व्यवसायीहरुसमेत स्वतःस्फूर्तरुपमा सडकमा निस्किएका छन् ।

‘लकडाउन’ खुकुलो भएसँगै मानिसको जमघट बढेकाले यो अवस्थामा भौतिक दूरी, मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, बारम्बार हात नधुने हो भने यसले भयावह अवस्था नआउला भन्न सकिन्न । त्यसैले अहिलेको यो समयमा लकडाउन खुकुलो भएपनि आफैं सजग हुन जरुरी देखिन्छ ।