काठमाडौं । शुक्रबार विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । यसका साथै नेपाली लिएर आएको जहाजले १६ मृत नेपालीको शव पनि ल्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्वालालम्पुरबाट सबैभन्दा धेरै नेपाली आएका हुन् भने १५ वटा शव पनि ल्याइयो । मलेसियाको क्लालालम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड विमानमा १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको हो ।

यसैगरी यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किए भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानले २७३ नेपालीलाई स्वदेश ल्याए ।

बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरमार्फत् निःशुल्क काठमाडौसम्म ल्याइदिएको हो ।

कुवेतबाट अहिलेसम्म ११ वटा उडानबाट आममाफी पाएका १७ सय २५ जना नेपाल फर्किएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैगरी नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज नेपाली लिनका लागि विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका जहाज हङकङ, अष्ट्रेलियाको मेलबर्न, यूएईको दुबई र साउदीको रियाद जँदा हिमालय एअरलाइन्सको जहाज भने यूएईको आबुधाबी र साउदीको दमामबाट नेपालीलाई ल्याउँदैछ ।

शुक्रबार त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको र आन्तरिकतर्फ ८ वटा उडान भएको तथा शनिबार विभिन्न ८ देशबाट नेपाली स्वदेश फर्कने विमानस्थलले जनाएको छ ।