फिक्कल । इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ३ जना ओमन र १-१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन् ।

भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतिनगर क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० वर्षीय र २८ वर्षीय पुरुष, इलाम नगरपालिका–८ का ४८ वर्षीय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले बताए । उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन् । यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जना संक्रमितले कोरोनालाई जितेर फर्किएपछि नगर उपप्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्ष लामाले अबिर र खदा लगाएर विदाई गरेका छन् ।