झापा । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा हालसम्म २७ जनाको मृत्यु भइसकेको छ । प्रदेश–१ मा कोरोनाको संक्रमण देखिए पनि हालसम्म कसैको मृत्यु भएको छैन तर कोरोनाबाट जोगिन गरिएको लकडाउनको अवधिमा भएका सवारी दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका छन् ।

गत चैत ११ गतेबाट सरकारले गरेको लकडाउन अन्र्तगत जेठ ३२ गते अर्थत ८३ दिनमा प्रदेश–१ का १४ जिल्लामा भएको सवारी दुर्घटनामा ४१ जनाले ज्यान गुमाएको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सो अवधिमा पाँच जना बालबालिका सहित २७ पुरुष र ९ जना महिलाले ज्यान गुमाएको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाले ज्यान गुमाए । त्यस्तै झापा र सुनसरीमा ८–८, ताप्लेजुङमा ३, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा एक–एक जनाको मृत्यु भएको छ ।

उक्त समयमा धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङमा भने सवारी दुर्घटनामा कसैको मृत्यु नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएसपी अधिकारीले बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले कारोडौं रुपैंया खर्च गरेका छन् । तर, दैनिकजसो हुने सवारी दुर्घटना नियन्त्रणका लागि भने प्रभावकारी काम गर्न नसक्दा दुर्घटना बढेको सरोकारवालाहरुले बताएका छन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले सवारी दुर्घटनामा मुख्य दोषी चालक आफैं भएको बताउँछन् । उनले विगतका भन्दा सवारी दुर्घटनामा कमी आउनुका साथै मृत्युदर घटे पनि दुई पाङ्ग्रे सवारी दुर्घटनाको संख्या भने बढेको उल्लेख गरे । मोटरसाइकल चालककै लापरबाहीका कारण कतिपय दुर्घटनाहरु हुने गरेको उनको भनाई छ ।

स्थानीय र प्रदेश सरकारले आ–आफ्नो क्षेत्रको पहिचान गरेर ट्राफिक नियम सम्बन्धी पाठ्यक्रम बनाएर विद्यालयमा अनिर्वाय पठनपाठन शुरु गर्नुपर्ने भन्दै उनले भने, दिनरात सडकमा खट्ने ट्राफिक प्रहरीले जरिवाना मात्र गरेर पुग्दैन अब सामाजिक र नैतिक रुपमा दण्डित हुने नियम पनि लागू गर्न जरुरी छ ।

उनले झापामा ट्राफिक प्रहरी दुर्घटनाको संम्भावित क्षेत्रको पहिचान गरेर त्यस क्षेत्रमा चेकजाँच गर्ने तथा कुन समयमा बढी दुर्घटना हुन्छ त्यस समयमा चेकजाँचलाई तिब्रता दिएको उल्लेख गरे ।

लकडाउनको अवधिमा अति आवश्यक काम बाहेक कसैलाई नहिड्न आग्रह गरे पनि ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउँदा झापामा ८ जनाले ज्यान गुमाएको प्रहरी निरीक्षक जवेगुले जानकारी
दिए ।

उनले स्थानीय तहले कोरोना भाइरस विरुद्ध गरेझैं खर्च अब सडक दुर्घटना नियन्त्रणका लागि पनि गर्न जरुरी रहेको प्रहरी निरीक्षक जवेगुले बताए । सडक दुर्घटना नियन्त्रण गर्न सबै जागरुक हुनु पर्ने तथा वर्षेनी सवारीको संख्या थपिने क्रम बढी रहेका बेला सडकको स्तारोन्नती गर्न जरुरी रहेको उनको भनाई छ ।