ताप्लेजुङ । जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्लाका विभिन्न भागमा केही दिनदेखि लगातार वर्षा भइरहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिले नौ वटा स्थानीय तहका दुई दर्जनभन्दा बढी गाउँलाई पहिरोको उच्च जोखिमा राखेको छ ।

पछिल्ला २० वर्षमा गएका पहिरोलाई मध्यनजर गर्दै दुई दर्जनभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा राखेको विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

जिल्लाको सिरिजंघा गाउँपालिकाका याम्फुदिन, मामांङ्खे, पेदाङ र सिनाम पहिरोको उच्च जोखिममा रहेको छ । यस्तै, सिदिङवा गाउँपालिकाका सादेवा, सुरुमखिम, लिम्बुदिन, कालिखोला र आङ्खोप रहेका छन् । पाथीभरा याङवरक गाउँपालिकामा नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे क्षेत्र पनि पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हुन् ।

सदरमुकाम रहेको फुङलिङ नगरपालिकाका ११ वटा वडामध्ये फुङलिङ बजार पनि पहिरोको उच्च जोखिममा रहेको भन्दै विपत् व्यवस्थापन समितिले सूचीकृत गरेको छ । नगरपालिकाकै दोखु, हाङदेवा र फुरुम्बु गाउँहरू पहिरोको उच्च जोखिममा रहेको समितिका अध्यक्ष निरौलाले बताए ।

जिल्लाको सबैभन्दा ठूलो फक्तालुङ गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा पहिरोको उच्च जोखिममा रहेका छन् । लिङखिम, ओलाङचुङगोला, लेलेप, तापेथोक, इखाबु र सावादिन पहिरोको उच्च जोखिममा रहेको समितिले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका खोक्लिङ, लिवाङ र सावाँ पनि पहिरोको उच्च जोखिममा छन् ।

आठराई त्रिवेणी गाउँपालिकाका फूलबारी र निगुरादिनका गाउँहरू पनि पहिरोको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन समितिले आग्रह गरेको छ । मेरिङदेन र मैवाखोला गाउँपालिकका गाउँहरू भने पहिरोको उच्च जोखिममा नरहेको विपत् व्यवस्थापन समितिले ठहर रहेको छ ।