खोटाङ । खोटाङका कृषि विज्ञ मदन राईले सलह किरा खरिद गर्ने घोषणा गरेका छन् ।

सलह किरा नियन्त्रणका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेसँगै कृषि विज्ञ राईले भने प्रतिकिलो सय रुपैयाँका दरले सलह खरिद गर्ने बताएका छन् ।

‘कसैले समाएर ल्याइदिए किलोको सय रुपैयाँले, हजार किलोसम्म ल्याए एक लाख भुक्तानी गरिनेछ’, सोल्मामा शुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ । केही पशुपंछीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पंछीलाई खुवाउने छौँ ।’

कृषिविज्ञ राईले सलह किरा नियन्त्रणको नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण बिषालु नबनाउन आग्रह पनि गरेका छन् ।

कृषि बिज्ञ मन्दन राई भन्छन, ‘यो बाक्लो आयो भने अलिक ठूलो कपडा दूई जनाले दुई छेउमा तानेर सलह छैकौं। एकै ठाउँमा एकैपटक पाँच दस किलो समाउन सकिन्छ। पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने। सलह सबैजसो पंछीको खाना हो। जंगली पंछी पनि मोटाउने भो। मूख्य कुरा हाम्रो धान, कोदो, मकै, आलु, तरकारी फलफुल बाली जोगाउनु हो। घाँस पनि जोगाउँ। तर, पहिले अन्न जोगाउ।’

मदन राई ‘६७’ कृषिविज्ञका रुपमा प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईले कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए । अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए ।

विश्वका धेरै मुुलुक, त्यहाँको समाजलाई नजिकबाट नियालेका राई नेपालका ७७ जिल्ला त पैदल नै घुमेका छन् भने सबै जिल्लामा पुगेर कृषिको अनुभव समेत लिएका छन ।