अन्तर्वार्ता

झापामै ५० रुपैयाँ केजीले सलह कीरा किन्ने जेसीजको घोषणा

By admin

June 30, 2020

झापा । बुधबारे जेसीजले सलह कीरा प्रतिकिलो ५० रुपैयाँका दरले किनिदिने भएको छ । ‘किसानका लागि जेसीज’ भन्ने अभियान अन्तर्गत सो कार्य गरिने भएको हो । बुधबारे जेसीजको सोमबार सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा यस्तो निर्णय भएको छ।

सलह नेपाल भित्रिसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस् भन्ने उद्देश्यले बुधबारे जेसीजले सो निर्णय गरेको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताए ।

सलह कीराले किसानलाई ठूलो क्षति पुग्न सक्नेतर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी भएको निचोड निकालिएको छ ।

बुद्धशान्ति–२ का वार्ड अध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्यालेन्डर बिमोचन कार्यक्रम तीर्थ तिम्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

बैठकले झापामा संचालित एकका लागि एक अभियान कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू सेवन्त पोख्रेल र प्रकाश भण्डारी, कानुनी सल्लाहकार मुकेश भट्टराई, कार्यकारिणी उपाध्यक्ष गजुहाङ योङ्हाङ, उपाध्यक्ष सुजित बराल, सचिव अनिल वाग्ले, लगायतकोआतिथ्यता थियो । कार्यक्रम महासचिव दीपेन सिटौलाले सञ्चालन गरेका थिए ।