झापा । अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बसेका व्यक्तिलाई सहयोगीहरुले सहयोग गर्ने क्रम जारी छ ।

भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई बुधबार अर्जुनधाराकै एक होटलले खाजाको व्यवस्था गर्यो । नगरपालिकाले सधैँझैँ खाजाको व्यवस्था गरे पनि अर्जुनधारा ७ मा रहेको डाँडाघरे रेष्टुरेन्टले बुधबार भने फरक परिकार खाजाको रुपमा प्रदान गरेको हो ।

डाँडाघरे रेष्टुरेन्टका सञ्चालक विष्णु शिवाकोटीले क्वारेन्टाइनमा बसेका ८५ जना, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत एक सय जनाका लागि चाउमिन र मःम खाजाको रुपमा निःशूल्क सहयोग गरेका हुन् ।

यस क्वारेन्टाइनमा रहेका व्यक्तिलाई यसअघि पनि दाताहरुले दैनिक आवश्यकीय वस्तु, खाजा, खानालगायतका सामग्री सहयोग गर्दै आएका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुको मनोबल उच्च पार्न यहाँ दैनिक योग अभ्यास, जीवनोपयोगी प्रवचन, नाँचगानसँगै व्यायाम गरिँदै आएको छ ।