झापा । झापामा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै झापामा संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अर्जुनधाराका २ जना महिलासहित ८ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो । उनीहरूसँगै ३२ जनाकाे स्वाब संकलन गरिएकाे थियाे ।

यसअघि पहिलोपल्ट २ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनीहरु निको भएर घर फर्किसकेका छन् । पछिल्लोपटक २ वर्षीया बालिकासहित उनकी आमा र एक जना पुरुषमा कोरोना संक्रमण भएको थियो । उनीहरुको उपचार भइरहेको छ ।

शुक्रबार पुष्टि भएका झापा मेचीनगर नगरपालिकाको राधास्वामी क्वारेन्टिनमा बसेका १४ जना रहेका छन् । मेचीनगरमा योसँगै संक्रमित संख्या ४१ पुगेको छ ।

यसैगरी, हल्दिबारीका ३ जना पुरुष, कनकाईका १ जना महिलासहित २ जना र बिर्तामोडकी १ महिलामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।