काठमाडौँ । नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ७४० जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

देशभर हालसम्म दुई लाख ४२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ५६ हजार २९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेका छन्

मन्त्रालयका अनुसार प्रदेश १ मा ६७४, प्रदेश २ मा तीन हजार ९९५, बागमती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा १ हजार ११८, प्रदेश ५ तीन हजार ८९१, कर्णाली प्रदेशमा एक हजार ५३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म छ हजार १४३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८२३ रहेको छ ।

नेपालमा कोरोना भाइरसले थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।