बिर्तामोड । बिदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको अभियोग लागेपछि फरार रहेका एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई शनिवार काठमाडौँबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरसँगको समन्वयमा झापाबाट प्रहरी निरीक्षक साकार पन्तको नेतृत्वमा खटिएको टोलीले प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरेको हो । आचार्यलाई आइतवार जिल्ला अदालत झापामा उपस्थित गराइएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

२०७२ मंसिर १० मा झुटो विवरणका आधारमा विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको कसुर मुद्दामा झापा जिल्ला अदालतले आचार्यविरुद्ध वारेन्ट जारी गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।