काठमाडौँ । काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको बताए ।

यसैबीच, काठमाडौँ उपत्यकाको तीनकुने र नख्खु क्षेत्रमा २२८ जनामा पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदायमा कोडिभ – १९ को संक्रमण फैलिएको छ वा छैन भन्नका लागि विभिन्न १० ठाउँमा परीक्षण गरिरहेको छ ।

अरु ठाउँमा पनि स्वाब संकलन भइरहेको र परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाए ।

मृत्यु हुनेको संख्या ३५ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाग्लुङ जिल्ला नेशीखोलाका गाउँपालिका-३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमितको संख्या ३५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार उनी ढोरपाटन गाउँपालिकाको क्वारेन्टाइमा रहेका थिए । उनको मृत्यु असार २१ गते भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका थिए ।