पर्वत पोर्तेल,
काँकडभिट्टा । मेचीनगर–७ मा पर्ने तल्लो भानु टोलको चियाबगाननजिकै अहिले निर्माण कार्य चलिरहेको छ । ‘आदिकवि भानुभक्त आचार्य पार्क’ नामकरण गरिएको यो ठाउँमा इँटाको पर्खाल उठाउने काम धमाधम छ ।

आर्थिक वर्ष सकिन लागेका कारण असार २५ भित्रै पर्खाल उठाइसक्ने तयारी छ । निर्माण समितिले पार्क क्षेत्रभरि ५ फुटे पर्खाल निर्माण गरिसकेको थियो । तर, मजबुत नहुने भन्दै नगरपालिकाकाले १० फुटे पर्खाल लगाउन भनेपछि अहिले करिब ३ बिघा क्षेत्रमा लगाइसकिएको पर्खाल भत्काइँदै छ ।

‘५ फुटे वाल हावा आउँदा पनि भत्किन सक्छ’, मेचीनगरका एक ओभरसियरले भने, ‘त्यही भएर १० फुटे बनाउन सुझाव दिएका छौं ।’

मेचीनगर वडा नम्बर ७ मा बन्न लागेको यो पार्कको निर्माण समितिका पदाधिकारी र सदस्य सबै वडा नम्बर ६ का छन् । केही दिनअघि वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचेले वडाको सहमतिबेगर निर्माण हुन लागेको पार्कको काम रोक्न भनेका थिए । तर, उनलाई समितिले टेरेको छैन ।

पार्कको पर्खाल लगाउन नगरपालिकाले पहिला ९ लाख र हालै १० लाख विनियोजन गरेको थियो । ‘९ लाखले वालका लागि सिमेन्टीको ढलान गरियो’, पार्क निर्माण समितिका अध्यक्ष राजकुमार पराजुलीले भने, ‘बाँकी १० लाखले वाल उठाउँदै छौं ।’

पार्क निर्माणका लागि अलग्गै बजेट विनियोजनको तयारीमा नगरपालिका छ । पार्क निर्माणस्थलमा योजना विवरण बोर्डसमेत छैन । ‘धमाधम काम सकेर बजेट सक्ने योजनामा समिति छ’, एक स्थानीयले भने ।

करिब ७ बिघा जमिनमा पार्क बन्न लागेको हो । तर, अहिले ४ बिघाजति जमिन मात्रै घेराबार गरिँदै छ । बाँकी ३ बिघा स्थानीय राज टी इस्टेटमा पर्ने दाबी गरिएको छ । ऐलानी जमिन संरक्षण गरेर पार्क निर्माणको काम अघि बढाइएको मेचीनगरका प्रमुख विमल आचार्यले जनाए ।

स्थानीय धनकुमार श्रेष्ठले स्थानीयले लामो समयदेखि भोगचलन गर्दै आएको जमिन नगरले हस्तक्षेप गरेर पार्क बनाउन सुरु गरेको जनाए । उनले भने, ‘हामीले २०४५ सालदेखि यो जमिन खनजोत गर्दै आएका थियौं, अहिले नगरले खोसेर पार्क बनाउन थाल्यो ।’ कान्तिपुरबाट