पोखरा । अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसै गरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् ।

लमजुङमा तीन जनाको मृत्यु
बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।

उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी गंगाबहादुरले बताए ।

बिहीबार राति साढे ८ बजेदेखि भीषण वर्षा भएको बेंसीसहरको सातबिसे क्षेत्रमा राति १० बजेतिर पहिरो गएको प्रहरीले बताएको छ ।

घरमा दीपकका आमाबुवा र छोरी पनि बस्दै आए पनि बिहीबार राति भने उनीहरु आफन्तकोमा गएको प्रहरीले बताएको छ । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् ।

बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घरदेखि करिब ५० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेले हारगुहार गरेका थिए ।

म्याग्दीमा ९ बेपत्ता
अविरल वर्षासँगै खसेको पहिरोले बिहीबार म्याग्दीमा पाँच घर पुरिएका छन् भने ९ जना बेपत्ता छन् । एउटा बेलिब्रिजसमेत भत्किएको छ ।

धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित चार घर बगेका छन् । पहिरोमा भीमबहादुरको परिवारका चार र धनबहादुरको परिवारका तीन जना बेपत्ता छन् ।

त्यस्तै मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा दुई जना बेपत्ता भएको स्थानीयले बताए । पहिरोले त्यहाँको शिव आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ ।वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोले घन्टीवाङको माथिल्लो खण्डमा १३ र तल्लो खण्ड रिखाका ४ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको र मानवीय क्षतिको जानकारी आए पनि संख्या यकिन भइनसकेको जनाएको छ । त्यसै गरी राहुघाट खोलामा आएको बाढीले कटान गर्दा बेनी–जोमसोम सडकको गलेश्वरस्थित राघुघाट खोलामाथिको बेलीब्रिज बगाएको छ ।

पुल बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।

‘नजिकको प्रहरी घटनास्थल पुग्दै छ । क्षतिको यकिन विवरण प्राप्त भएको छैन । ७ देखि १० जनासम्म मिसिङ भएको जानकारी छ,’ जिल्ला प्रहरी प्रमुख किरण कुँवरले भने ।