झापा । अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

नगरका सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । जन्मेकाे १५ महिनाभित्रमा सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोगविरुद्ध ७ वटा खोप लगाएका छन् । खाेप छुटेका १६ देखि २३ महिनासम्मका बालबालिकामाझ खाेजी गरिए पनि नपाइएकाे प्रमुख बस्नेतकाे भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेल, नगर उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख हरिकुमार रानाले गरेका थिए ।

कार्यक्रममा खुदुनाबारी स्वास्थ्य चौकी, शनिश्चरे प्राथमिक स्वास्थ केन्द्र र अर्जुनधारा स्वास्थ्य चौकीलाई पूर्ण खोप सुनिश्चितका लागि सघाउ पुर्याएको भन्दै प्रशंसापत्र प्रदान गरिएयो । साथै नगरका ११ वटै वडा कार्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव डम्बर मिश्रले स्वागत गरेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेल, नगर उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, ६ नम्बर वडाध्यक्ष लोकनाथ गौतमले आफ्ना भनाइ राखेका थिए । गत वर्षदेखि अर्जुनधारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिँदै आएको छ ।