सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

कोशीमा आएको बाढीले क्षति नपुर्‍याओस भन्दै सप्तकोसी आसपासका क्षेत्रमा उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

पहाडी जिल्लाहरुमा परेको लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा प्रतिसेकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

पानीको बहाव वर्षकै उच्च भएपछि कोशी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्रलगायत दर्जनौ बस्तीका बासिन्दा त्रसित भएका छन् ।

बुधवारदेखि सुरु भएको वर्षा पहाडी जिल्लाहरुमा नरोकिँदा सप्तकोशीमा पानीको बहाव बढिरहेको छ । पानीको बहाव बढेपछि खतरा उत्पन्न हुन सक्ने भन्दै कोशी आसपासका क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज विष्टको कमाण्डमा ५० जनाको टोली सप्तकोशी आसपासका क्षेत्रमा उद्धार सामग्रीसहित चौविसै घण्टा परिचालन भएको छ ।

बाढी आएका बेलामा डुबानमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याउनका लागि सशस्त्र प्रहरीको टोली सप्तकोशीमा परिचालन भएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्ट बताउनुहुन्छ ।

यता सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोल्न स्थानीय प्रशासनले चासो देखाएको छैन ।

भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजमा आफू अनुकूल मात्र ढोका खोल्ने गरेका कारण नेपालीहरु त्रसित हुनु परेको सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बताउनुहुन्छ ।

उहाँले असार, साउन र भदौ महिनामा सप्तकोशी आसपासका बासिन्दा त्रासमा बस्नु परेकाले सबै ढोका खोल्ने वातावरण बनाई दिन संघीय सरकारसमक्ष माग गरेको बताउनुहुन्छ ।

सुनसरी प्रकाशपुरका स्थानीयले कोसी सम्झौता अनुसार घरखेत गुमाएका पीडित परिवारले हालसम्म कुनै राहत नपाएको गुनासो गरेका छन् ।

सबै ढोका नखोलेकै कारण २०६५ साल भदौ २ गते राती सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका साविकका श्रीपुर, हरिपुर, पश्चिम कुसाहा र लौकही गाविसका हजारौ स्थानीयको घरखेत बगाएको थियो ।