विचार

कोरोना कहर : छिमेकीको व्यवहारले मानसिक पीडा !

By admin

July 14, 2020

वैदेशिक रोजगारीदेखि लिएर आफन्त भेटघाट तथा घुमफिरको लागि नेपाल बाहिर नै लकडाउनका कारण रोकिएका मजस्तै धेरै नेपाली सरकारको उद्धारका कारण आफ्नो देश अनि आफ्नो गाउँघर आइपुग्न सफल भएका छौँ । अहिले विश्व नै कोरोना महामारीका कारण बन्दाबन्दीको अवस्थामा छ भने कसरी यसबाट छुट्कारा पाउने भनेर भरमग्दुर प्रयासमा छ ।

विश्वका धनी र बिकसित देशहरुले त कोरोनाबाट बच्ने औषधि बनाउन नसकिरहेको अवस्थामा हामीजस्तो गरिव देशका जनताको अवस्था नाजुक हुनु स्वाभाविक नै हो । तर, पनि अहिले विश्वका मिडिया, सञ्चारमाध्यम, पत्रपत्रिका जतात्यतै यहि कोरोनाकै विषयमा सावधानी अपनाउने सूचनाहरु हरेक पल प्रसारण अनि प्रवाह गरिरहेका छन् । विश्वका अधिकांश देशहरुले कोरोना न्युनिकरणको एकमात्र उपाय सामाजिक दूरी अनि मास्कको प्रयोग र साबुन पानीले हात धुने अनि सेनिटाइज गर्नेलाई मान्यता दिएर लकडाउन खोल्ने र जनजीवनलाई सामान्य बनाउनेतर्फ काम सुरु गरिसकेको छ ।

नेपालमा पनि मिडियाहरुले यो सम्बन्धि जनचेतना फैलाउने काम गरी नै रहेको छ र धेरैले बुझेको पनि अवस्था छ । तर, बुझेर पनि वनको बाघले खाओस्, नखाओस् मनको बाघले खान्छ भनेझैँ क्वारेन्टिनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ लिएर गाउँ जाँदा पनि गाउँलेबाट गरिने ब्यवहार देखेर कहिलेकाहिँ हाम्रो चेतनाको स्तरदेखि आफैँलाई आश्चर्य लाग्छ । हो, हामी विदेशबाट नै आएको हो तर हामीले सरकारले तोकेको सबै नियम पालना गरेर चेकजाँच गरेर, क्वारेन्टिन बसेर रिपोर्ट नेगेटिभ लिएर आएका हौँ ।

तर, यहाँ होम क्वारेन्टिनमा बस्दा आफ्नैले हामीसँग गरेको ब्यवहार देख्दा हामी कोरोना भाइरस नै हौ झैँ गरेर अमानवीय ब्यवहार गरेको देख्दा मजस्ता केही बुझ्ने, पोजेटिभ सोच्नेलाई गाह्रो नहोला तर विदेशमा पनि बिग्रेर, धेरै महिना पीडामा बसेर आएका अनि आफ्नो बिग्रेको ब्यवहार सम्झेर आफैँ निरास भएको अवस्थामा गाउँ, छिमेक अनि आफन्तबाट पनि यस्तै अमानवीय ब्यवहार पाउने हो भने मानसिक तनावले आत्महत्या गर्न पछि पर्दैन र स्थिति भयावह आउन समय नलाग्ने मेरो ठम्याइ छ ।

विदेशदेखि आउँदाको अवस्थामा हामीलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत सबैले माया, सद्भाव अनि सकारात्मक सोचाइको विकास होस भनी विभिन्न ब्यायामहरु गराएर, यदि संक्रमण भएको भए पनि त्यसलाई जितेर नेगेटिभ बनाउन सफल हुनुभयो । तर, हजुरहरु त म जन्मेको, सँगै खेलेको हुर्केको ठाउँको मान्छे, मर्दापर्दा सधैँ चाहिने मान्छे अनि यस्तो अमानवीय ब्यवहारले मन कस्तो हुन्छ होला ? अनि कस्तो मानसिक असर पर्छ होला ? एकपटक मूल्यांकन गर्नुस् त आफ्नो ठाउँमा बसेर ।

सामाजिक दूरी कायम गरेर अनि सरसफाइ र माक्समा ध्यान दिँदा त यो रोग सर्दैन नि ! त्यहिमाथि हामी भनेको चेकजाँच गराएरै आएको हो । यसमा बोलचाल नै बन्द गर्नुपर्ने अनि मेरो घरको आसपास नै आउन नहुने, अनि मेरो परिवार सबै नै कोरोना पीडितझैँ ब्यवहार गर्नु ? के हामीले आर्जन गरेको शिक्षा यहि हो त ? के नेपाली समाज अब यो अवस्थामा आइपुगेकै हो त ? हाम्रो मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव, भाइचारा कोरोनासँगै सकिएको हो त ? गाउँ, समाज अनि देश भनेको हामी आफैँ नै हौ, त्यसैले बिभिन्न समस्याका बाबजुत पनि आफ्नो घर, परिवार सम्झेर आएका मजस्ता आम नेपालीलाई मानसिक तनाव दिनुको सट्टा हौसला अनि सकारात्मक सल्लाह सुझाव दिएर कोरोना जित्ने अभियानमा आजै लागौँ र जानेका सुनेका अनि बुझेका कुरालाई समाजमा लागु पनि गरौँ ।

कोरोना त्यस्तो जटिल रोग होइन, सकारात्मक सोचाइ अनि राम्रो खानपानमा यो रोगलाई सजिलै जित्न सकिन्छ तर घर परिवार, गाउँ, समाजबाट गरिने बहिस्कारले समाजमा विकृति नल्याउला भन्न सकिन्न ।

श्रेया गजमेर, झापा (हाल होम क्वारेन्टिन )