इलाम । इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् ।

इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् ।

कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, ग्रिसबाट आएका एक एक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् ।

पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । उनीहरुको गत २८ गते स्वाब परीक्षणको लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।

इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् । इलाममा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो ।