झापा । अर्जुनधारा १० स्थित कालिझोडामा बाह्य खोप केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।

नगरको स्वास्थ्य शाखाको पहलमा संघीय सरकारमार्फत ६ लाख ५० हजार रुपैयाँको लागतमा केन्द्रको भवन निर्माण भएको हो । आव २०७५/६७ मा ३ लाख र आव २०७६/७७ मा ३ लाख ५० हजार बजेट विनियोजन भएपछि एउटा कार्यकक्षसहित सभा हल निर्माण भएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार स्थानीय दाता दाताराम अधिकारीले साडे ७ धुर जग्गा उपलब्ध गराएपछि बाह्य खोप केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवन अभावमा स्वास्थ्य स्वयंसेविकाहरुले घरको पेटीमा, चौतारा तथा खुला चौरमा पनि खोप लगाउन बाध्य थिए । अब यो समस्या टरेको छ ।

यहाँ प्रत्येक महिनाको २ गते र १७ गते खोप लगाइने गरेको छ । यसअघि २, ६ र ११ नम्बर वडामा खाेप केन्द्र निर्माण भइसकेका छन् ।