काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले बताएका छन् ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, वाग्मती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ ।

अहिले देशका विभिन्‍न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् ।

हाल देशभरीका क्‍वारेन्टाइनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।