काठमाडौं । नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख‍्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।

उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए ।

जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६.२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।