झापा । झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे १० प ९८२६ नंको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गएिको छ ।

मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन् । उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए । रासस