झापा । झापामा अघिल्लो वर्षको तुलनामा आत्महत्याका घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले गरेको आव ०७६–०७७ को समीक्षा प्रतिवेदनले त्यस्तो देखाएको हो ।

कार्यालयले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले विगत तीन वर्षको तथ्यांकमा यस वर्ष आत्महत्याका घटनामा निकै कमी आएको बताउनु भयो ।

तथ्यांकअनुसार यस वर्ष जिल्लामा २२३ जनाले आत्महत्या गरेका छन् । अघिल्लो वर्ष आत्महत्या गर्नेको संख्या २८८ थियो भने त्यसअघिको वर्षमा २४७ ले आत्महत्या गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष त्यस्तो घटनामा २३ प्रतिशतले कमी आएको देखिन्छ ।

जिल्लाभर आत्महत्याका घटना ६५ प्रतिशत नगरपालिका र ३५ प्रतिशत गाउँपालिकामा भएको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या २ सय छ । आत्महत्या गर्नेहरु १८ देखि २५ वर्ष उमेर समूहमा धेरै छन् । तीमध्ये ५९ प्रतिशत पुरुष छन् ।

यस्तै जिल्ला प्रहरीले गरेका सचेतनामूलक कार्यक्रम, अपराध न्यूनीकरणमा प्रहरी–नागरिकबीचको सहकार्य, कोरोना भाइरस नियन्त्रणका लागि सरकाले गरेको लकडाउनलगायतका कारण अन्यखाले अपराधमा पनि यो वर्ष कमी आएको प्रहरी उपरीक्षक कोइरालाले बताउनु भयो ।

पछिल्लो तीन वर्षको तथ्यांकमा आव ०७६–०७७ मा मुद्दा दर्ताको संख्या पनि उल्लेख्य घटेको कोइराला बताउनु हुन्छ ।

झापा प्रहरीले यो वर्ष ९० जना फरार अभियुक्तलाई पक्राउ गरी कारवाही पनि गरेको बताइएको छ ।