झापा । आइतबार राति घर नजिकै हात्ती धपाउन गएका मेचीनगर १ देबीगञ्जका एक स्थानीयलाई तस्करहरुले कुटपिट गरेका छन् । तिरिङ खोला नजिकै रातको समयमा लाइट लिएर गएका अनिल लिम्बुमाथि हातपात भएको हो ।

हात्ती छ कि भनि देखाइएको लाइटले सामान बोकेर वारि पारि गर्दै गरेको देखेपछि तस्करहरुले लाइट लगाउने लिम्बुसँग निहुँ खोजेका थिए । किन लाइट लगाएको भन्दै निहुँ खोजको र अन्धाधुन्ध हातपात गरेको पीडित लिम्बुले बताए ।

उनको टाउको र अनुहारमा गहिरो चोट लागेको छ । घटनाको बिषयमा तत्कालै गाउँमा हल्ला भएपछि ति व्यक्तिहरु फरार भएका थिए ।

पीडितको तर्फबाट राति नै तिरिङ चौकीमा उजुरी गरेको स्थानीय मोहन लिम्बुले बताए । तर, चौकीले राति कुनै चासो नदेखाएको उनीहरुको आरोप छ । उनीहरु रातको समयमा सुपारी तस्करी गर्दै आएको खुलेको छ ।

यसरी कुटपिट गरेको विषयमा प्रहरी चौकी तिरिङका सइ कमल कार्कीले राति नै ति ब्यक्तिहरुलाई पक्राउ गर्न खोजिए पनि भेट्न नसकेको बताए । उनीहरुको बिषयमा थप अनुसन्धानका लागि अहिले केहीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाउने तयारी भएको बताए ।

घाइते लिम्बुको अहिले बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।