काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन्। प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ। जससध्ये २ हजार ७६६ जना निको भइसकेका छन्।

प्रदेश नम्बर ५ मा ४ हजार १९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा ४ हजार १२७ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये २ हजार १२९ जना निको भइसकेका छन्।

त्यस्तै, कर्णाली प्रदेशमा १ हजार ५७ जना संक्रमितमध्ये १ हजार ५४० जना संक्रमण मुक्त भइसकेका छन्।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ४०३ संक्रमितमध्ये १ हजार २० जना संक्रमणमुक्त भएका छन्। बागमती प्रदेशमा ८८२ संक्रमितमध्ये ४५२ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन्। प्रदेश १ मा हालसम्म ८६० संक्रमितमध्ये ७५२ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।