काठमाडौँ । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ ।

सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘हामी अब लकडाउनमा छौं भन्न परेन ।’ लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै उनले यसलाई अन्त्य गरिएको बताएका हुन् ।

तर, स्वास्थ्य सुरक्षाको जोखिम तथा संक्रमणको जोखिम भने कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक कायम राख्ने र स्यानिटाइज गर्ने काम जारी राख्नुपर्ने उनले बताए ।

सरकारले चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु गरेको थियो । भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।