बिर्तामोड । गाउँमा पसेको कन्काईको बाढीको पानी नघट्दा झापा गाउँपालिकामा विस्थापितहरू घर फिर्न पाएका छैनन् ।

नदीको भँगालो पूर्वी किनारतर्फ मोडिएपछि झापास्थित जनताको तटबन्ध कार्यालयका प्राविधिकहरूले असार पहिलो साता च्यानलाइज (नदीको धार बीचमा पार्ने) काम गर्ने तयारी गरेका थिए । उपकरणसहित प्राविधिक नदीसम्मै पुगे पनि केही स्थानीयले काम गर्न दिएका थिएनन् ।

यो वर्षामा नदीको धार पूर्वी किनारतर्फ मोडियो । प्राविधिकले योजना बनाए पनि काम गर्न नपाएकै ठाउँबाट नदीले बाँध भत्काएको हो । सडकबारीमा बाँध फुटाएको कन्काईको भेल आइतबार रातिदेखि बस्तीमा पसेको हो ।

सडकबारीको पश्चिमपट्टि गौरीगन्ज–१ होकलबारी पर्छ । होकलबारी पनि नदी कटान र डुबान क्षेत्र हो । नदी च्यानलाइज गरेपछि आफूहरू डुबानमा पार्ने भन्दै होकलबारीका स्थानीयले अवरोध गरेका थिए । च्यानलाइज गर्ने विषयमा सडकबारी र होकलबारीका स्थानीयबीच एक सातासम्म छलफल भए पनि सहमति जुटेन । नदी च्यानलाइज नभएपछि कन्काईले असार तेस्रो सातादेखि कटान सुरु गरेको थियो ।

कन्काईले सडकबारीमा ८ वर्षअघि निर्माण गरिएको कच्ची बाँध भत्काएको हो । बस्तीमा पसेको कन्काईको भेल एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिनमा बगिरहेको छ ।

पानी पर्न कम भए पनि कन्काईले गाउँपालिका १ र २ का करिब ६५ घर डुबानमा छन् । ‘हामीले नदी च्यानलाइज गर्न पाएको भए सडकबारीमा बाँध फुट्दैन थियो,’ जनताको तटबन्ध कार्यालयका प्रमुख कैलाश श्रेष्ठले भने, ‘दुवैतर्फका स्थानीयबीचको ठेलमठेलले अहिले ठूलो विपद्को सामना गर्नुपर्‍यो ।’

बस्तीमा ठूलो क्षति पुर्‍याउने गरी बाँध भत्किएपछि कार्यालयको पहलमा गौरीगन्ज र झापा गाउँपालिकाका जनप्रतिनिधिबीच बल्ल नदी च्यानलाइज गर्ने सहमति जुटेको छ । पानीको सतह घटेलगत्तै काम सुरु गरिने श्रेष्ठले बताए ।

नदीको भँगालो पसेपछि घर छाड्न बाध्य भएका ४७ परिवार बुधबार पनि फर्कन सकेनन् । दुई वडाका चार बस्तीमा गरी ६५ परिवारको घर–आँगन अझै जलमग्न छ । ‘पानीको सतह घटिरहेको छ । तर, भँगालो नै गाउँ पसेकाले विस्थापितलाई तत्कालै घर फर्काउन सक्ने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष जयनारायण साहले भने ।

विस्थापितहरू बुधबार पनि सितुमारी र लक्ष्मी प्राविमै रोकिए । ‘दुई रात बसेपछि घर फर्किन पाउँछौं जस्तो लागेको थियो,’ सुकलाल किस्कुले भने, ‘पानी त घटेको छ तर खोला अझै बस्तीबाटै बगेको छ ।’ कान्तिपुरबाट