अमित खम्बू,
अर्जुनधारा । सम्बन्धित निकायको बेवास्तासँगै वर्षाको समयमा बिरीङ नदीमा आउने बाढीका कारण झापाको अर्जुनधारा–८ स्थित बिरीङ जलाधार ब्लक नम्बर ३ले स्थापना गरेको ग्रीनबेल्ट संरक्षणमा समस्या सिर्जना भएको छ ।

ब्लकले २०७४ सालमा आफ्नो क्षेत्रको साँढै पाँच हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवाहरु रोपी स्थापना गरिएको उक्त ग्रीनबेल्टमा दैनिक जसो पर्ने अविरल वर्षाका कारण नदीमा आएको बाढीले किनारतर्फको जमिन कटान गर्न सुरु गरेपछी समस्या सिर्जना भएको हो ।

तत्कालिन् झापा जिल्ला वन कार्यालयको परामर्श र समन्वयमा ब्लकले नदीमा आउने बाढीका कारण हुने भूक्षय नियन्त्रणको लागि उक्त ग्रीनबेल्ट स्थापना गरिएको ब्लकका अध्यक्ष एवम् अर्जुनधारा नगर सभा सदस्य सेवन्त ढकालले जानकारी दिए ।

दीर्घकालिनरुपमा समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायलाई तटबन्धनको लागि पहल गर्दा पनि उक्त समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदिएका कारण समस्या सिर्जना भएको उनी दावी गर्छन् ।

उपभोक्ताहरुले जलाधारलाई निजी जग्गा प्रयोग गर्न दिएबापत त्यसबाट आउने आम्दानीको ७५ प्रतिशत जग्गाधनीलाई र २५ प्रतिशत जलाधार समितिलाई भन्ने मौखिक सहमति भएकोमा सम्बन्धित निकायले चासो नदिँदा उनीहरुले आफ्नो जमिनमा पुनः अन्य कृषि बाली लगाउन सुरु गरेको उनले बताए ।

तत्कालिन बुधबारे इलाका वन कार्यालय शनिश्चरेको पहलमा झापा जिल्ला वन कार्यालयबाट तीन लाख रुपैयाँ बराबरको काठको पोल र तारबाट ग्रीनबेल्ट क्षेत्रमा घेराबारा भएकोमा हात्ती तथा नदी कटानका कारण घेराबारा गरिएको सामग्रीहरुमा क्षति पुग्नुका साथै बाँकी घेराबारा गरिएको सामग्रीहरु हाल जीर्ण अवस्थामा रहेको अध्यक्ष ढकालले खुलासा गरे ।

“ग्रीनबेल्टमा खमारी, खयर, टिक, सतिसाल, सिसौलगायत विभिन्न प्रजातीका आठ हजार पाँच सय विरुवा रोपीएकोमा हाल ५० प्रतिशत विरुवा हुर्किएको अवस्थामा छ”– उनी भन्छन् ।

ग्रीनबेल्ट स्थापना गरिएको साल राष्ट्रपति चुरे संरक्षण कोष र झापा जिल्ला वन कार्यालयको समन्वयमा ग्रीनबेल्टको ५० मिटर क्षेत्रमा जाली लगाइए पनि ग्रीनबेल्ट संरक्षण गर्न थप पाँच सय मिटरमा तटबन्धन गर्न आवश्यक रहेको उनले बताए ।

दीर्घकालिनरुपमा समस्यमा समाधान गर्न तटबन्धन नगर्ने हो भने आगामी दिनमा बाढीले ग्रीनबेल्ट, सिञ्चाईं गर्न बनाइएको पैनी र खेतीयोग्य जमिनमा क्षतिसँगै बाढी गाँउ पस्ने खतरा रहेको स्थानीय एवम् अर्जुनधारा प्रेस क्लबका सचिव प्रेम आचार्य बताउँछन् ।

यता यस विषयमा नगर उपप्रमुख एवम् योजना तर्जुमा समितिकी संयोजक कमला खतिवडा आचार्यसँग बुझ्दा ग्रीनबेल्टलाई संरक्षण गर्न अनुगमन र प्राविद्यिक मूल्याङकनपछि तटबन्धनको लागि प्रक्रिया अगाडि बढाउने उनले बताइन् ।

सोही ब्लक अन्र्तगत रहेको गढी क्षेत्रमा रहेको बस्ती जोगाउन अनुगमन र प्राविधिक मूल्याङकन पश्चात् तटबन्धन गर्न ४१ थान जालीसहित दुई लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको उपप्रमुख आचार्यले बताइन् ।