काठमाडौं । नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।