झापा । पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो ।

साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनुभयो ।

आजको संख्यासहित मेचीनगरमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन । त्यस्तै पुराना ५ सहित आज पुष्टि भएका १८ सहित २३ जना मोरङको गोठगाउँस्थित आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका भएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले बताउनुभयो । बरालले मेचीनगरबासीलाई थप सर्तक रहन आग्रह समेत गर्नुभएको छ ।

नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन । तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नु पर्ने काकरभिट्टाबासीको माग छ ।

मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको यो नै ठुलो संख्या हो । यस अघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकैदिन १४ जनामा कोरोना पुष्टि भएको थियो । रेडियो साथीबाट