बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट पश्चिम नेपालकी एक शिशुले सफल उपचार पाएकी छन् ।

कैलालीको लम्की चुवा २ की २० महिने शिशुको देब्रे आँखाको पछाडिपट्टी ट्युमर थियो । यसलाई चिकित्सकले ब्रेन ट्युमर बताएका छन् । करिब साडे ११ घण्टाको शल्यक्रियापछि ट्युमर निकालिएको अस्पतालका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवले जानकारी दिए ।

अस्पताल परिसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. यादवले शिशुको आँखा पछाडि करिब छ इञ्चजति ब्रेनको छेउमा रहेको ट्युमर बिएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालको चिकित्सकको टोलीले न्यूरो सर्जरी गरेको बताए ।

न्यूरो सर्जरीपछि २ महिनासम्म अस्पतालमै राखेर रेडियसन गरेर उपचार सम्भव भएको उनको भनाइ थियो । उनलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ ।

उपचारमा संलग्न न्यूरो सर्जन डा. पंकज नेपालले शिशुको ट्युमर निकाल्ने काम चुनौतिपूर्ण सर्जरी भएको बताए । ‘शिशुको ट्युमर निकाल्ने मात्र होइन, आँखाको नशा जोगाउने मुख्य चुनौति थियो’, उनले भने, ‘ट्युमरलाई घटाएर रेडियो थेरापी गर्नुपर्ने थियो ।’

ट्युमर निकाल्ने र रेडियसन गर्ने क्रममा दायाँपट्टिको आँखालाई जोगाइएको डा. यादवले बताए । बायाँ आँखाले काम गर्छ भन्न सकिने अवस्था नरहे पनि दायाँ आँखाले काम गरिरहेको उनले सुनाए ।

स्थानीय एफएमबाट पूर्वमा क्यान्सर हस्पिटल छ भनेर थाहा पाएकी शिशुकी आमा रचना शाहीले यसअघि छोरीको उपचारमा काठमाडौँ धाए पनि सम्भव नभएको सुनाइन् । छोरीलाई यहाँ ल्याएर उपचार गराएपछि आँखा देख्न सक्ने बनाएको भन्दै चिकित्सक टोलीलाई धन्यवाद पनि दिइन् । उनले भनिन्, ‘यो अस्पतालले हाम्रो हराएको खुशी फिर्ता ल्याइदिएको छ ।’

यस्तो केशको शल्यक्रिया र उपचार सामान्यतया पहिलो नभएता पनि बच्चाको ब्रेन ट्युमरको सर्जरी डाक्टरहरुको लागि चुनौति हुने गरेको चिकित्सकको भनाइ छ ।

बिर्तामोडमा गत पुष महिनादेखि सञ्चालनमा ल्याइएको पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमै उच्च प्रविधिको मेसिनसहित स्थापित छ । चार महिना लामो लकडाउनका कारण भारत जाने बिरामी पनि यहीँ आउने गरेकोले थप बिरामीको सेवामा अस्पताल क्रियाशील रहेको जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

जनवरी २०२० बाट सेवा दिन थालेको क्यान्सर अस्पतालले यो अवधिमा १७ सय हाराहारी बिरामीको केश हेण्डल गरिसकेको डा यादव बताउँछन् ।

यस अवधिमा २ सयभन्दा बढीको रेडियसन थेरापी, ५ जनाको रेडियो सर्जरी, ९ जनाको ब्रेकी थेरापी र १५० जनाभन्दा बढीको अंकोलोजी गरिएको अस्पतालले जनाएको छ ।