शनिश्चरे । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस शुक्रबार झापामा मनाइएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाको आयोजनामा अर्जुनधारा–६ कप्तानवारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको हो ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले स्वागत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, अर्जुनधारा –६ का वडाध्यक्ष लोकनाथ गौतम लगायतले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको योेगदानको बारेमा चर्चा गर्दै उनले देखाएको पथमा लाग्नुपर्नेमाम जोड दिएका थिए ।

कार्यक्रममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाले सातौं स्मृति दिवसको अवसर पारेर अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै नगद समेत प्रदान गरेको थियो ।

कार्यक्रममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाका सञ्चालकहरु विष्णुप्रसाद चुडाल, जनवहादुर जवेगू, अर्जुनधारा–६ का वडासदस्यहरु अर्जुन मेचे, टुम्मनाथ काफ्ले, माया खाती, लक्ष्मी महतारा, प्रतिष्ठानका लेखापाल मिलन पोखरेल, सह लेखापाल सौरभ भट्टराई, तारा न्यौपाने, मनुराम चिमरिया, दिवाकरलाल चौधरीलगायतको सहभागिता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा २०७६ सालमा झापाको विर्तामोड –४मा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापा शाखा स्थापना गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) संग सम्झौता गरेर एक सय ८० जनालाई निःशुल्क कम्प्युटर शिक्षा, व्युटिशियन, सिलाईकटाई, मौरीपालन, बाख्रापालन, बेमौसमी तरकारी खेती, पशु स्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए ।

त्यस्तै प्रतिष्ठान झापाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) संग सम्झौता गरेर एसईई परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुका लागि तीन वर्षे डिप्लोमा तहका बाली विज्ञान, पशु विज्ञान, वन विज्ञानका कोर्षहरु सञ्चालन गरिने उनले बताए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जयप्रसाद भट्टराईले गरेका थिए ।