इलाम । इलाममा छ जना सुरक्षाकर्मीसहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् ।

क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो । त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् ।

त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए ।

सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमित गस्ती नहुने भएको छ । सशस्त्र प्रहरीका गणपति रोशन श्रेष्ठले सशस्त्र प्रहरीलाई गण बाहिर ननिकाल्ने बताए ।

उनले क्वारेन्टाइनकै सुरक्षामा खटिएकाहरुलाई संक्रमण देखिएको बताए । संक्रमित सबैलाई उपचारको लागि पठाइएको छ ।

इलामबाट सशस्त्र प्रहरीका १२ जनासहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाइएको थियो । यसअघि इलामका २६ जनामा संक्रमण देखिएको थियो । नौ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।