विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा बजेट अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै गत शुक्रबार ‘कोरोना समुदाय स्तरसम्म पुगिसकेकाले सचेत र सतर्क हुन’ सर्वसाधारणलाई अपिल गरे ।

उनको यो भनाइमा संकटको गाम्भीर्यता प्रस्ट झल्कन्थ्यो । मुख्यमन्त्रीले ‘सरकार एक्लैले गरेर केही नहुने बरु नागरिकको समेत साथ चाहिने’ प्रतिकात्मक सन्देश दिँदै सर्वधारणलाई कोरोनाबाट बच्ने उपायहरू अवलम्बन गर्न पनि आह्वान पनि गरे ।

चैत ११ पछिको लकडाउन र त्यसपछि सरकारले कोरोना नियन्त्रण गर्न क्वारेन्टिन, होल्डिङ सेन्टर, कोभिड अस्पताल स्थापना र जिल्लाहरूमा आइसोलेसन सेन्टरको तयारीका कामबारे सदनलाई जानकारी गराए ।

तर, कोरोना नियन्त्रणका लागि अब झन् ठूलो तयारी र सतर्कता जरुरी रहेको भन्दै सचेत पनि गराए । मुख्यमन्त्रीले प्रदेशमा समुदायस्तरमा कोरोना फैलिएका स्थान र तथ्यांक प्रस्तुत गरेनन् ।

तर, गत बुधबारदेखि नै कोरोनासम्बन्धी आउन थालेका ‘पोजेटिभ केस’ हरूले नै संक्रमण समुदायस्तरमा फैलिसकेको प्रारम्भिक संकेत भने दिन सुरु भइसकेको छ ।

कोरोना नियन्त्रणका लागि प्रदेशमा सक्रिय सामाजिक विकास मन्त्रालयले प्राप्त कोरोना संक्रमणको अवस्थालाई सूक्ष्म अध्ययन गर्दा प्रारम्भिक रूपमा समुदायमा कोरोना पुगेको संकेत मिलेको जनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य विज्ञ तथा मन्त्रालयका प्रवक्ता डा। सुरेश मेहताले भने, ‘कतिपय ठाउँमा भेटिएका संक्रमितको स्रोत नखुलेका कारण समुदायमा कोरोना पुगेको हुन सक्ने हाम्रो पनि ठम्याइँ छ तर समुदायमा पुगिसकेपछि जुन गतिमा संक्रमितको संख्था थपिएर जानुपर्ने हो त्यो नभएकाले हामी थप परीक्षण र अध्ययन गरिरहेका छौं । समुदायमा गए एकबाट दश र दशबाट सयको दरमा बढ्न सक्छ ।’

मेहताका अनुसार मुख्यमन्त्री राईबाट समुदायमा भेटिएका संक्रमितहरूको स्रोतको पहिचान नभएकाले नै ‘कोरोना समुदायसम्म पुगेको’ अभिव्यक्ति आएको स्पष्ट पनि गरे ।

खासगरी झापा, मोरङ र सुनसरीलाई जनसंख्या, भारत सीमा र तेस्रो देशबाट मानिस आउजाउ हुने लगायत कारणले बढी जोखिमयुक्त मानिएको छ ।