काँकरभिट्टा । झापाको मेचीनगरमा सुरक्षाकर्मीमा ठुलो संख्यामा कोरोना देखिएपछि संक्रमण समुदायमा फैलिए, नफैलिएको बुझ्न समुदायस्तरबाट स्वाब संकलन गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापाको टोलीले काँकरभिट्टाको दुई अलग अलग स्थानबाट स्वाब संकलन गरेको हो ।

मेचीनगरका व्यवसायी, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं चालक लगायत आम नागरिकहरुको स्वाब संकलन गरिएको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिनुभयो ।

वडा नं ६ स्थित मेची सामुदायिक भवनमा नगरपालिकाको स्वास्थ्य शाखाको तर्फबाट स्थानीय नागरिक, ब्यवसायी, स्वास्थ्यकर्मी गरी ८५ जनाको स्वाब संकलन गरिएको शाखा प्रमुख राईले जानकारी दिनुभयो ।

त्यस्तै काँकरभिट्टा माविको होल्डिङ सेन्टरबाट ३२ जना सुरक्षाकर्मीहरुको स्वाब संकलन गरिएको छ ।

नगरले समुदायस्तरमा कोरोनाको संक्रमण बुझ्न पहिलो चरणमा सार्वजनिकरुपमा सक्रिय ब्यक्तिहरुको स्वाब संकलन गरिएको जनाएको छ । सोको नतिजा प्राप्त भएपश्चात नगरले आगामी रणनीति तय गर्ने नगरपालिका श्रोतले बताएको छ ।

शाखा प्रमुख राईका अनुसार मेचीनगरमा पछिल्लो समय साउन ८ र ९ गते संकलन गरिएको स्वाबको रिपोर्ट आउन बाँकी छ । त्यस्तै आजका थप ११७ गरी अझै २ सयभन्दा बढीको पीसीआर परीक्षणको नतिना आउन बाँकी छ ।

झापाको मेचीनगरमा शुक्रबार मात्रै सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण देखिएको थियो । यसअघि समेत २ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

मेचीनगरमा हालसम्म कोरोना पुष्टि भएकाहरुको संख्या ७० रहँदा ४६ जना संक्रमणमुक्त भईसकेका छन् । २४ जना बिभिन्न आइसोेलेशन केन्द्रमा उपचाररत छन् ।

गत जेठ २६ गते पहिलोपटक मेचीनगरमा कोरोनाको संक्रमण देखिएको थियो ।