अर्थ बजार

झापाका किसानले मास्न थाले उखु खेती

By admin

July 29, 2020

राजु पौडेल, झापा । लकडाउनका कारण उखु बिक्री गर्न नपाएपछि झापाका किसानले उखु खेती नै मास्न थालेका छन् । विशेषतः ग्यामेरा प्रजातिको जुस बनाउने उखु उत्पादन गर्दै आएका झापाका किसानले उखु बिक्री गर्न नपाएपछि खेतबारीमै उखु नष्ट गर्न बाध्य भएका हुन् ।

झापाका किसानले उत्पादन गर्दै आएको ग्यामेरा प्रजातिको जुुस बनाउने उखु उत्पादन तथा बिक्री हुने मुख्य सिजन चैतदेखि हो । तर, कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि झापाका किसानले उत्पादन गरेको उखु बिक्री हुन पाएन । जसका कारण उखु खेतबारी मै सुक्यो भने सिजनको अन्त्यतिर ‘पानी चढेर’ सडियो ।

जग्गा भाडा तथा ठेक्कामा लिएर उखु खेती गर्दै आएका किसानले अहिले भने खेती नै मासेर धानबाली लगाउन थालेका छन् । ‘जमिनको भाडा त तिर्नैपर्ने भयो, अब उखु राख्दा नपोसाउने भयो’, अर्जुनधारा–५ का किसान दुर्गाबहादुर निरौलाले भने, ‘यो फाँडेर धान नै लगाउन थालेको छु् ।’

हल्दिबारीमा समेत उखु खेती गर्दै आएका भुपेन्द्र कार्कीलाई समेत उखुले यसपटक घाटा लगायो । २० बिगाह जमिनमा उखु लगाएका उनले पनि आफ्नो उत्पादन बजारसम्म पुर्याउन पाएनन् । ‘२० लाख जति बर्षमा कमाउथ्येँ’ उनले भने, ‘यसपटक त साँवा पनि नउठ्ने भयो ।’

झापाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्ति र हल्दिबारीको २ सय ६२ बिगाह जमिनमा उखु खेती हुँदै आएको छ । अर्जुनधारामा भने लामो समयदेखि व्यावसायिकरुपमा उखु खेती हुँदै आएको छ । बर्षौँदेखि उखु खेती गर्दै आएका किसान पनि सरकारको उदासिनताका कारण अहिले उखु खेती मास्नुपर्ने परिस्थितिमा पुगेको दुःखेको गर्छन् ।

‘खेतीको बिमा गरेका किसानले पनि बिमाबापतको रकम पाएनन्’, अर्जुनधाराका पुराना उखु किसान तथा उखु किसान संर्घष समितिका संयोजक पर्शुराम भारतीले भने, ‘हामी स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म गुनासो लिएर पुग्यौँ, कसैले हाम्रो समस्या बुझेनन् ।’

उनले लकडाउनका कारण उखु बेच्न नपाएका किसानलाई कम्तीमा साँवा उठ्ने गरी राहत व्यवस्था गरिदिन र बिमा गरेका किसानलाई सो बापतको रकम उपलब्ध गराईदिन माग गरेका छन् ।

झापामा उत्पादन भएको उखु झापाका बजारसहित काठमाडौँ, पोखरासम्म पुग्ने गरेको छ । गत आर्थिक वर्षमा ५ हजार २ सय ४ मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ । तर, कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंह भने उखु बिक्री नभएको बारे आफूलाई जानकारी नभएको र थोरै क्षेत्रमा उत्पादन हुने भएकाले व्यावसायिक नहुँदा राहत लगायतका सेवासुविधा प्रदान गर्न समस्या भएको बताउँछन् ।

‘लकडाउनका कारण उखु बिक्री नभएको मलाई थाहा छैन’, उनले भने, ‘फेरि उखु नगदेबाली भएकाले यसमा राहतको व्यवस्था पनि छैन ।’

यसरी किसानले लाखौँ रुपैयाँ र परिश्रम लगानी गरेर उखु खेती गर्दै आए पनि विभिन्न परिस्थिति र बजारका कारण कृषि कर्मबाटै पलायन हुने स्थिति छ । सरकारले कृषि पेशालाई प्राथमिकतामा राखेको जनाए पनि वास्तविक किसान भने मारमा परिरहेका छन् ।