अर्जुनधारा । यस आर्थिक वर्षका लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि अर्जुनधारा नगरपालिकाले वडाका जनप्रतिनिधि, स्थानीयबासीसँग छलफल शुरु गरेको छ ।

नगरपालिकाले यसवर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन गर्नका लागि सरोकारवालाहरुसँग छलफल गरेको हो । नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलामा उत्पादित सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्नका लागि जनप्रतिनिधि तथा त्यस क्षेत्रका सरोकारवालासँग छलफल शुरु गरेको हो ।

नगरको वडा नं १, २ र ३ का सरोकारवालासँग बुधबार बिहान १ नम्बर वडामा भएको थियो भने दिउँसो ४, ५ र ७ नं. वडाका लागि ४ नम्बर वडामा सरोकारवालासहित जनप्रतिनिधिको सहभागितामा छलफल भएको थियो ।

वडा नं. १ का अध्यक्ष गजाधर खतिवडाको अध्यक्षतामा भएको छलफल कार्यक्रमा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, नेकपा जिल्ला सदस्य योगेन्द्र आर्चाय, स्थानीय नयन अधिकारी, चक्र तामाङ, विजय सेन्दाङ, सोम खतिवडाले स्थानीय समस्याका बारेमा आफ्ना भनाइ राखेका थिए ।

उनीहरुले खोला उत्खनन गर्दा हुने खानेपानीको समस्या, कुलो मुहानको समस्या, खोलाले खेतीययोग्य जमिनको कटानलगायत विकास निर्माण सम्बन्धी ढिलासुस्तीलाई समाधान गर्दै अघि बढ्न नगरलाई सुझाव दिएका छन् ।

नगर प्रमुख हरिकुमार रानाले स्थानीय जनताको जीवनशैलीमा रुपान्तरण गर्नका लागि पनि कर संकलन आवश्यक रहेको बताए । उनले राज्यको मापदण्डमा रहेर नगरले कार्य गर्ने बताउँदै स्थानीयले यस कार्यप्रति सहयोग गर्नुपर्नेमा जोड दिए ।

वातावरणविद् ज्ञानेन्द्र चैधरीले खोला मापदण्डविपरीत उत्खनन् गर्न नहुने र आइइ प्रतिवेदनअनुसार मात्र उत्खनन् गर्न जानकारी गराएका थिए । त्यसैगरी ४ नम्बर वडामा भएको कार्यक्रम वडा अध्यक्ष दुर्गाप्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।