झापा । अर्जुनधारा १ स्थित सिस्नेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी काठमाडौँ गएर आएका थिए ।

नगर स्वास्थ्य शाखाका अनुसार छिमेकीलाई लिएर उनी सोमबार काठमाडौँ गएका थिए । उनले काठमाडौँमै रहँदा थ्रोट स्वाब संकलन गराएर बुधबार उनी पुनः झापा घर फर्किएका हुन् । उनी ३१ वर्षीय पुरूष हुन् । उनी ३ दिनमै झापा फर्किएका थिए ।

घर आइपुगेको भोलिपल्ट हिजो बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको खबर उनले पाएका थिए । उनलाई थप उपचारका लागि पठाउने कार्यमा जुटेको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।

शाखा प्रमुख बस्नेतका अनुसार संक्रमित व्यक्तिको घरपरिवार ‘सिल’ गरिसकिएको छ । उनको परिवारमा ८ जना सदस्य रहेका छन् । उनीहरुको पनि पाँच दिनपछि स्वाब संकलन गरिने भएको छ ।

परिवारका सदस्यमा पनि संक्रमण फेला परेकाे खण्डमा संक्रमित व्यक्ति डुलेको गाउँघरको ‘कन्ट्याक ट्रेसिङ’ गरिने स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए ।