काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराएका छन्।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु’, उनले फेसबुकमा लेखेका छन्।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरि जनताको काममा फर्किने जनाएका छन्।

उनले पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेको जनाए।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन्। उनको मेडिसिटी अस्पतालमा परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो।

मेयर सरवागी गत सोमबार एक कार्यक्रममा सहभागी हुन वीरगन्जबाट काठमाडौं आएका थिए।