राजु पौडेल,
झापा । झापाको टाङ्टिङ खोलाले धार परिवर्तन गरि बाँध कटान गर्दै गाउँ पस्ने जोखिम बढेपछि नदी नियन्त्रणका लागि स्थानीय आफैँले पहल थालेका छन् । नदी नियन्त्रणका लागि स्थानीय सरकारले समयमै ठोस पहल नगरेको भन्दै स्थानीय आफ्नो घर र खेतीयोग्य जमिन बचाउन जुटेका हुन् ।

झापाको अर्जुनधारा–४ स्थित रातेखालमा टाङ्टिङ खोलाले बाँध नै कटान गरी गाउँ पस्ने जोखिम बढेको छ । पानीको वहाव निरन्तर बाँधमा ठोकिदै भत्काउन थालेपछि स्थानीयबासी नदीमा बासँका किला गाड्दै रोकथाममा जुटेका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत खोलामा निर्माण भएको बाँध भत्काउन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

नदीको तीव्र कटानका कारण टाङ्टिङ नजिकै रहेको जरुवा खोलामा मिसिने भयले स्थानीयले नदीको धार परिवर्तनका लागि प्रयास थालेका हुन् । टाङ्टिङ जरुवामा मिसिएर बग्न थाले रातेखाल, खैरेनी, बाघेडाँगी, सिंहबाहिनीका झण्डै डेढ सय घरपरिवार विस्थापित हुनुका साथै र सयौं विगाह जमिन बगरमा परिणत हुने स्थानीय बताउँछन् ।

‘बाँध भत्काउन लागेको छ, यसलाई रोकिएन भने रातेखालको धेरै घर जोखिममा पर्छ’, स्थानीय राजेन्द्र अधिकारीले भने, ‘त्यसैले सबै मिलेर खोलाको धार रोक्ने कोसिस गरिरहेका छौँ ।’

इलाम र झापाको सिमावर्ती चुरे क्षेत्र आसपासमा बर्षा हुनासाथ उर्लिने टाङ्टिङ खोलाको बाढीले अर्जुनधारा नगरपालिकाको १, ३ र ४ का नदी तटिय क्षेत्रका बासिन्दा र सयौं विगाहा खेतीयोग्य जमिन उच्च जोखिममा पर्दै आएको छ ।

उक्त खोलाको कटानले सयौं विगाहमा सिँचाई सुविधा पु¥याउने सिंहवाहिनी नहरसमेत जोखिमा परेको छ । मानव बस्ती, खेतीयोग्य जमिन र संरचनाहरुको संरक्षणका लागि स्थानीय सरकारले तत्काल योजना बनाउनुपर्ने स्थानीयको भनाई छ ।

‘अब यहाँ अलिकति बाँध बाँधेर मात्रै हुँदैन’, स्थानीय खड्क सुवेदीले भने, ‘माथि (भाङ्गबारी)देखि नै बाँधेर ल्याउनुपर्छ नत्र यसरी नै बर्षेनी दुःख पाइन्छ ।’

टाङ्टिङले वर्षेनी वर्षातको समयमा सो क्षेत्रका बासिन्दाको सयौं विगाह खेतीयोग्य जमिन कटान गर्दै लग्ने गरेको छ । खोला नियन्त्रणका लागि तत्काल क्षणिक पहल गरे पनि दीर्घकालिन रुपमा समेत नियन्त्रण गरर््े गरी काम अगाडि बढाउने योजना रहेको अर्जुनधारा वडा नम्बर ४ का अध्यक्ष दुर्गाप्रसाद दाहालले बताए ।

‘अहिले नियन्त्रणका लागि फलामको किला गाडेँर र स्काभेटर लगाएर खोलाको धार परिवर्तन गरिरहेका छौँ’, उनले भने, ‘दीर्घकालिनरुपमा खोला नियन्त्रणका लागि आगामी कार्तिकबाट काम सुरु गर्दैछौँ ।’

वर्षेनी उर्लेर आउने टाङ्टिङ खोला विगतदेखि नै वर्षेनी मानव बस्ती भएको रातेखाल क्षेत्रतर्फ आउन थालेको छ । जसका कारण खोलाले घरखेतै लैजाला कि भन्ने भय स्थानीयलाई हरेक बर्खामा सताउने गर्छ ।