झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय गरेको हो ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायमास्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । बिहीबारमात्र अर्जुनधारा वडा नम्बर १ का एक व्यक्तिमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले यो कदम चालेको हो ।

उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।

मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने पाउने छैनन् । संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।

यस्तै, नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवाहरु बन्द रहने निर्णय गरिएको नगर प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए ।

बिरामी भएको अवस्थामा सम्बन्धित वडा अध्यक्षको सिफारिसमा उपचारका लागि सवारीसाधन प्रयोग गर्न पाइने उनले बताए ।

यसैबीच, पीसीआर परीक्षणको दायरा बढाउनका लागि आवश्यक पर्ने सामग्री भिटिएम किट खरिद गर्ने निर्णय पनि गरिएको छ । नगर स्वास्थ्य शाखा प्रमुख तथा सीसीएमसीका सदस्य सचिव मुकुन्द बस्नेतका अनुसार एक हजार थान भिटिएम किट खरिदका लागि आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय भएको छ ।

नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । पाँच दिनका लागि गरिएको यो व्यवस्था संक्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।