बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बिर्तामोडमा लक डाउन घोषणा गरिएको छ । प्रदेश र संघीय सांसदहरुलाई राखेर बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र अनिश्चितकालिन लक डाउन घोषणा गरेको हो । यद्यपि, सांसदहरु भने लक डाउन गर्नुपर्ने पक्षमा थिएनन् ।

तर, नगरपालिकाले जनताको स्वास्थ्य संवेदनशीलता नबुझेको सन्देश जाने भएपछि लक डाउन गरिएको हो । प्रहरी चौकी बिर्ताबजारमा कार्यरत महिला प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बिर्तामोडमा त्रास उत्पन्न भएको छ ।

ती महिला प्रहरी बिर्तामोडको बजरंग मेडिकल हलमा उपचारका लागि आएको सार्वजनिक भएपछि आइतवार विहानदेखि उक्त मेडिकल हल समेत बन्द गराइएको छ । यसअघि झापाको बाह्रदशीका संक्रमितको सम्पर्कमा आएका विर्तामोडका विभिन्न व्यक्ति होम क्वारेन्टाइनमा छन् ।

इलामको जिर्मलेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको सम्पर्कमा आएकाहरु पनि होम क्वारेन्टाइनमा बसेका छन् । बाहिरबाट आएकाहरुको कारण बिर्तामोडमा संक्रमण फैलिन सक्ने आँकलनका आधारमा नगरपालिकाले लक डाउन गरेको हो ।

बिर्तामोडको व्यवसायिक जनमत भने लक डाउनका पक्षमा छैन । नगरपालिकाले सोमवारदेखि अर्को सूचना नभएसम्म लक डाउन जारी रहने जनाएको छ । मोटर साइकलसहित निजी तथा सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय नगरपालिकाको छ ।

निजी, अर्ध सरकारी तथा सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन् । औषधी पसल र दूध डेरी बाहेक खाद्यान्नका पसलहरु बिहान ८ देखि ११ बजेसम्म खुल्नेछन् । खाद्यान्न बाहेकका अन्य पसल बन्द हुने जनाइएको छ ।