झापा । अर्जुनधारा नगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको रिपोर्ट सोमबार बिहान आएको हो ।

नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र कन्ट्याक ट्रेसिङका ११ जनाको पाँच दिनअघि स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

पोजेटिभ आएका सबै पुरुष छन् । जसमा मलेसिया र कतारबाट एक-एक जना तथा दुई जना भारतबाट आएका हुन् । उनीहरुलाई थप उपचारका लागि लैजाने तयारी गरिएको छ ।

यसअघि क्वारेन्टाइनमा रहेका चार महिलासहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

पछिल्लोपटक अर्जुनधारा १ सिस्नेमा समुदायमा देखा परेका संक्रमित व्यक्तिको उपचार जारी छ भने त्यहाँ कन्ट्याक ट्रेसिङकाे काम चलिरहेकाे छ ।