झापा । झापाकाे अर्जुनधारा १ मा समुदायमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कन्ट्याक ट्रेसिङ र स्वाब संकलन गर्ने कार्य भएको छ ।

अर्जुनधारा १ स्थित सिस्नेका एक व्यक्तिमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि नगरको स्वास्थ्य शाखाले संक्रमित व्यक्तिको ट्राभल हिस्ट्रीलाई फलो गरेर आइतबार र सोमबार कन्ट्याक ट्रेसिङ गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार १ नम्बर वडाका ७१ जनाको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा संक्रमित व्यक्तिका ८ जना परिवार सदस्य पनि रहेका छन् ।

अब स्वास्थ्य शाखाले ४, ७ र ८ नम्बर वडामा कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गर्ने जनाएको छ । १ नम्बर वडाको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आए समुदायमा कोरोना संक्रमण भएको थप पुष्टि हुनेछ ।