प्रकाश पाक्साँवा,
तेह्रथुम । बाक्लो बस्ती छैन । घर भए पनि केही टाढा छन् । जंगल नजिकै गाउँ छ । सुविधाको खोजीमा भएका घरवालाहरु पनि पातलिंदै गएका छन् ।

भएका सबै जग्गा जमिन बाँझो नै छाड्न थालिएको छ । टारी खेतदेखि फाँटिला टारहरु यतिबेला झोरझाडी जंगलझै बनेका छन् ।

एक्लो दोक्लो हिँड्नै डर लाग्ने जंगलको रुपमा लिन थालेका छन । मलिला र ओसिलो ठाउँतिर उतिसका विरुवा हुर्किन थालेका छन् । खेतीयोग्य जमिन नभएको भने पक्कै होइन ।

केहीबर्ष अघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफुले खाएर बचेको अन्नले परिवारको गर्जो टार्न मुस्किल थिएन तेह्रथुम छथर गाउँपालिकाका केही बस्तीका नागरिकहरुलाई ।

समयसँगै मानवबस्ती पातलिन्दै जाँदा बाँदरको हैरानी थपिएको छ । दैविक प्रकोप, प्राकृतिक प्रकोप पछि यहाँका स्थानीयहरुका लागि बन्यजन्तुको आंतक पनि एक प्रकोप बनेको छ ।

वर्षदिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि नागरिक बसाइँ सर्ने विकल्प खोज्न थालेका छन् । तमोर नदीसँगै जोडिएका बस्तीहरुमा बाँदरका हुलहरुले अन्नबाली सखाप पारेको बर्षौ भयो तर समस्याको समाधानको निम्ति स्थानीय सरकारले ध्यान नदिएको छथर २ का भिमबहादुर थापाले बताए ।

मेहेनत परिश्रम गरी परिवार धान्न लगाएको बाली नै सखाप पार्न थालेपछि विकल्प नै बसाइँसराई बन्न थालेको हो । जंगली जनावरको ज्यादतीले वर्षौदेखि यहाँका किसानहरु त्रसित छन् ।

वन क्षेत्रहरुसँगै जोडिएको बस्तीहरु जंगली जनावरहरुको ज्यादतीले स्थानीयहरुलाई दिनदिनै झनै समस्या निम्त्याएको हो ।

जंगली जनवारमा पनि विशेषगरी बांदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलु, जस्ता अन्नपातहरु नस्ट गर्न थालेपछि स्थानीयवासी हैरानी हुँदै आएको शेरबहादुर कार्कीले बताए ।

“भएको सबै जमिन बाँझो भइसक्यो थोरै जमिनमा लगाएको बाली पनि सखाप परे अब बसाइँ सर्ने तयारीमा छु ”, उनले भने । पहिले बारीमा लगाएका अन्नबालीहरु संकलन गर्नलाई बारीमा बाँदर लखेट्न रुँगालु बस्नु पर्दथ्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडा समेत बोक्न थालेपछि गाउभरि नै बांदरको आतंक बढेको कर्णबहादुर लिम्बुले बताए ।

लिम्बुका अनुसार अहिले अनिवार्य दिनभर घरमा बाँदर लखेट्न घर रुँगालु बस्नु पर्ने बाध्यता रहेको छ । बांदर आतंकले स्थानीयले बारीमा लगाएको आलु, तोरी, तरकारीहरु, उखु लगायतका बालीमा बांदरले उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थांग्रोमा चढेर मकै खाने र पाक्न लागेकाबालीहरु खाने गरेको छ ।

बादंरको आतंक अत्यन्तै बढेकाले बसाइँ सर्नेको संख्या बढेको छ । गतवर्ष मात्रै दर्जनभन्दा बढी यहाँका स्थानीय बसाइँ सरी अन्यत्र गएका छन् । बासुदेव भट्टराई, राजन भट्टराई, भिम थापा, भक्तबहादुर कार्की लगायत धेरै परिवार बसाइँ सरी अन्यत्र गइसकेका छन् ।

बसाइँ सर्ने उचित स्थान भए तुरुन्त गाउँका १० घरधुरी सर्ने मनस्थितिमा रहेको तर बसाइँ सर्ने अनुकुलता नभएकाले बांदरको ज्यादती सहेर बस्न बाध्य भएको पीडितहरु बताउँछन् ।

बांदरको आतकंका कारण यस वर्षको बाली कसरी भित्र्याउने भनेर स्थानीयवासीहरु चिन्तामा छन् । छथर गाउँपालिकाका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुंग र आङदिम गाउँका सुख्खा क्षेत्रका बासिन्दा पनि जंगली जनावरबाट दुःख झेलिरहेका छन् ।

तमोरले छोएका जंगल र वस्तीहरुमा सुख्खा बढेसँगै जंगली जनवारहरुको आहारा कम हुन थालेकाले अहिले जंगली जनवारहरु बस्ती नजिक हुँदै घरसम्म आउन थालेको स्थानीयवासीहरुको भनाई छ ।

किसानहरुको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बुले बताए ।