झापा । अर्जुनधारा नगरपालिकामा घोषणा गरिएको लकडाउन यथावत रहने भएको छ ।

यसअघि नगरले आज बिहीबार रातिसम्म लकडाउन गर्ने भनी सार्वजनिक गरेको थियो । तर, अझ ४ दिनका लागि म्याद थप गरेको नगरपालिकाले जनाएको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बिहीबार बसेको बैठकले साउन २६ गतेसम्म नगर क्षेत्रमा (बन्दाबन्दी) लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

समुदायमा संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न वडामा पनि कन्ट्याक ट्रेसिङ गरिएको छ । बुधबार मात्र १२७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडाका १०२ जनाको कन्ट्याक ट्रेसिङका आधारमा गरेको स्वाबको नतिजा आउन बांँकी रहेकाले लकडाउनलाई निरन्तरता दिएको नगरले जनाएको छ ।

नगरले यस अघि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगर प्रमुख रानाका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

नगरक्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।